किशोरीहरु रुन्छन्, चिच्याउँछन्, कराउँछन् तर, आवाज सुनिदिने कोही हुँदैन । हातमुख जोर्न शरीर बेच्नुपर्ने वाध्यता भोगिरहेकाको हितमा काम गर्छु भन्दै बोर्ड झुड्याउने धेरै छन् । तर, तिनीहरु वास्तविक पीडितसम्म पुग्न सकेका छैनन् । नयाँ बसपार्कबाट पछिल्लो पटक सार्वजनिक भएको घटनाले अवैध यौनधन्दामा प्रहरीकै संलग्नता समेत खुलाएको छ ।
आफ्नै देशभित्र बेचिन बाध्य बालिका एवम् किशोरीको चित्कारबारे चर्चा गरिरहेका छौं । एउटा कामका लागि भन्दै राखेर यौनधन्दामा लगाउनु ‘देह व्यापार’ हो । अर्थात् मानव बेचविखन । जुन जघन्य अपराध हो । यहाँ मानव एवम् चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने थुप्रै सरकारी एवम् गैरसरकारी संघसंस्था छन् । तर, उनीहरुको नजर राजधानीमै सञ्चालित ‘यौन–कोठी’मा पुगेको छैन ।
अवैध ध्रन्दा नियन्त्रण गर्नुपर्ने प्रहरी नै यौनधन्दामा संलग्न रहेको खुलासा हुन्छ भने योजस्तो विडम्वना के हुन सक्छ ? जसले यौन व्यवसाय थप मौलाउन भरथेग गरिरहेको छ । फरक आवरणमा यौन व्यवसाय चलाउने मनु छन्त्याल त उदाहरण मात्रै हुन् ।
सयौंले विमला र कमलाको नियति भोगिरहेका छन् । राजधानीमा छ्याप्छ्याप्ती यौनधन्दा भइरहेको स–प्रमाण भेट्दा समेत नियन्त्रणमा प्रहरी एवम् चेलीबेटी बेचबिखनविरुद्ध काम गरिरहेका सरकारी तथा गैरसरकारी संघसस्थाले प्रभावकारी काम गरेका छैनन् ।
मनु छन्त्यालहरुलाई कसले संरक्षण गरिरहेको छ ? प्रश्न पछ्याउँदै जाँदा अन्तिममा प्रहरीमै गएर ठोकिन्छ । जस कारण विमला–कमलाहरुले नारकीय जीवन भोग्नु परिरहेको छ । तर, यो भोगाई र प्रताडना कहिलेसम्म ? राजधानीमै मौलाउँदो देह व्यापार नियन्त्रण गर्न सरकारी एवम् गैरसरकारी संस्थासँगै प्रहरीको भूमिका प्रभावकारी हुन्छ ।
प्रहरी मात्रै इमान्दार भइदिने हो भने यस्ता कुकर्म स्वतः निरुतसहित हुन्छ । तर, अवैध अखडा प्रहरीकै यौनप्यास मेट्ने र कमाउने माध्यम बन्छन् भने सयौं विमला–कमलाहरुले नारकीय जीवनबाट मुक्ति पाउन असंभव छ ।
Post a Comment